जेठयता धरानमा डेंगु संक्रमणबाट ७ जनाको मृत्यु

विराटनगर । सुनसरीकोे धरानमा जेठ महिनायता डेंगु संक्रमणका कारण कारण ७ जनाको मृत्यु भएको छ ।

हालसम्म संक्रमित हुनेको संख्या २ हजारभन्दा बढी छ । डेंगु संक्रमण सबैभन्दा बढी धरानमा रहेको जनाइएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताकाअनुसार ३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ ।

डेंगुबाट धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ ।

उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि भन्दै लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाएको छ । ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाइएको जनाइएको छ ।

धरानका प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाएको छ ।

यो संक्रमणबाट १० जिल्ला प्रभावित छन् । सुनसरी, धादिङ, कास्की, दार्चुला, काठमाडौँ, संखुवासभा, म्याग्दी, कञ्चनपुर, रुपन्देही र मोरङमा संक्रमण बढिरहेको जनाइएको छ ।

एकपटक लामखुट्टेको बासस्थान नष्ट गर्दैमा संक्रमण रोकथाम नहुने भएकाले सफाइ/लामखुट्टे नियन्त्रण अभियानलाई निरन्तरता दिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । यो लामखुट्टेले सफा पानीमा फुल पार्छ । यसको टोकाइबाट जोगिन घरभित्र र वरपर पानी जम्न नदिन, शरीर ढाक्ने कपडा लगाउन, खाल्डाखुल्डी पुर्न, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, खाली भाँडाकुँडा घोप्ट्याएर राख्न तथा सुत्ने बेला झुलको प्रयोग गर्न विज्ञले सुझाव दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *