निरन्तर वर्षाले पूर्वी तराई जलमग्न

विराटनगर । निरन्तर वर्षाका कारण पूर्वी तराईका अधिकांश क्षेत्र जलमग्न बनेको छ । झापा, सुनसरी र मोरङमा भएको अत्यधिक वर्षाका कारण डुबानको जोखिम बढेको छ ।

विभिन्न नदी, खोलामा आएको बाढी गाउँ बस्ती पस्न थालेकाले कतिपय परिवार विस्थापित बनेका छन् ।

सुनसरीको सुनसरी खोलामा आएको बाढीका कारण सिसुवाधरमपुर प्रहरी चौकी डुबानमा परेपछि त्यहाँ खटिएका प्रहरी विस्थापित भएका छन् ।

भोक्राहानरसिंह गाउँपालिका–८ मा रहेको सिसुवाधरमपुर चौकीमा असइ (सहायक निरीक्षक) रमेश परियारको नेतृत्वमा ६ जना प्रहरी कार्यरत थिए । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले बाढी पसेर डुबान भएपछि प्रहरीले चौकी छाड्नु परेको जानकारी दिए ।

बाढी पसेर चौकी क्षेत्रमा चार फिटसम्म पानी जमेपछि हातहतियार, सञ्चार सामग्री तथा बन्दोबस्तीका सामानसहित टोलीले चौकी छाडेका थिए । उनीहरु हरिनगरा गाउँपालिका–५ स्थित सिसुवाधरमपुर आधारभूत विद्यालयमा बसिरहेका छन् ।

मुसलधरे वर्षापछिको बाढीका कारण मोरङ र सुनसरीका दर्जनौं स्थान डुबानमा परेका छन् । शुक्रबार बिहानैदेखि निरन्तर वर्षा भइरहेकाले खोलाहरुमा पानीको बहाव उच्च बनेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले ठाउँठाउँमा परिचालन गरिएका सुरक्षाकर्मीले सबैलाई सचेत रहन आग्रह गर्दै जोखिममा परेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न प्रयास गरिरहेको जानकारी दिए । खोलाहरुमा जल सतह बढेर खतराको तह आसपासमा पुगेसँगै तटीय क्षेत्रमा जोखिम बढेको एसपी पोखरेलले बताए ।

मोरङका बूढी, सिंघिया, लोहन्द्रा, बक्राहालगायतका दर्जनौं खोलामा बाढी आएको छ । बाढी आएपछि ठाउँठाउँमा कटान सुरु भएको छ । डुबान, कटान र बाढीको जोखिम बढेका कारण सर्वसाधारणलाई सचेत हुन प्रहरी तथा स्थानीय प्रशासनले आग्रह गरेका छन् ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंंगानाले जिल्लाको दक्षिण, पश्चिम र उत्तरी क्षेत्रमा डुबानको समस्या देखिएको बताए । सप्तकोशी नदीले सुनसरीको वराहक्षेत्र, रामधुनीलगायतका स्थानमा कटान सुरु गरेको छ । दुई छेउको १ सयदेखि १ सय ५० मिटरसम्म जमिन कटान गरिसकेको जनाइएको छ ।

यसैबीच, मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर बगाएपछि ३ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढीले घर–टहरा भत्काउँदा खोला किनारमा बसोबास गर्दै आएकाहरु विस्थापित भएका हुन् ।

सार्वजनिक जग्गामा घर बनाएर बसेका अर्जुन मुखिया, सुरज मुखिया र विष्णुदेव मुखियाको घर बाढीले बगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनीहरु बस्दै आएको घर–टहरा बाढीले भत्काएर बगाएको छ । विस्थापित भएकालाई सुरक्षित स्थानमा सारिएको छ ।

सिंघियाले कटान गर्दा खोला किनारमा बसोबास गर्दै आएका मञ्जय मुखिया र डब्बी मुखियाको घर जोखिममा परेको छ । दुवै परिवारलाई रामजानकी मन्दिरको सामुदायिक भवनमा राखिएको छ ।

सुनसरी र मोरङमा बढी वर्षा

सुनसरी र मोरङमा अति भारी वर्षा भएको छ । निरन्तर वर्षाका कारण अधिकांश स्थान जलमग्न बनेका छन् । कतिपय स्थानमा भलबाढी पसेर जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको सूचना अनुसार पछिल्लो तीन घण्टायता सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा आसपास अति भारी वर्षा भएको छ ।

बुढीखोला, केसलिया, सुनसरी खोला, लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलाहरुमा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

ती क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । बाढी र डुबानका कारण सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्कता अपनाउन भनिएको छ । मोरङको कानेपोखरी र आसपास क्षेत्रमा पनि पनि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ ।

बिहीबार राति सिन्धुलीको मरिन, रानिबास र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने साना खोलाहरुमा जलसतह बढ्ने तथा कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार आज सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *