कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएका छन् । विश्वासको मत माग्दै प्रदेशसभामा मुख्यमन्त्री कार्कीले पेस गरेको प्रस्ताव फेल भएको हो ।

मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ४६ मत परेको थियो । प्रस्तावको विपक्षमा ४३ मत खसेको सभामुख बाबुराम गौतमले बताए । सांसद ८९ जना उपस्थित थिए । यो प्रक्रियामा सहभागी नहुने निर्णय गरेको जसपा बैठकमा अनुपस्थित रहयो ।

मुख्यमन्त्री कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले मत दिएका थिए । विश्वासको मतको विपक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले मतदान गरेका थिए ।

कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका सभामुखसमेत गरी १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एकजना सांसद छन् ।

विश्वासको मतको प्रयोजनका लागि बिहीबार प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरिएको थियो । सदनमा छलफल भएपछि सभामुखले बिहीबार साँझ ५ः२० बजेतिर ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

त्यसपछि प्रदेशसभाबाट निस्किएका मुख्यमन्त्री र मन्त्रीहरु फर्किएनन् । बैठक शुक्रबारका लागि सारिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *