भाटभटेनीका सञ्चालक गुरूङसहित ५ जना पक्राउ

काठमाडौं । चर्चित ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
सरकारी कागज कीर्ते गरेको आरोपमा गुरुङसहितका व्यक्तिहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
गुरुङ काठमाडौंको नक्सालस्थित निवासबाट पक्राउ परेका हुन् ।
यसैगरी डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा पनि पक्राउ परेका छन् ।
उक्त कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
२०४९ सालदेखि २०६६ सम्म उनीहरू मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा काम गरेका थिए ।
कागजात कीर्ते गरी सरकारी जग्गा हडपेको आरोप उनीहरुमाथि छ ।
ब्युरोले ललिता निवास जग्गा अनियमितताबारे फेरि अनुसन्धान सुरु गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
डेढ वर्षअघि महान्यायाधिवक्ताको हस्तक्षेपका कारण यो प्रकरणको अनुसन्धान रोकिएको थियो ।