सरोज खनाल निर्देशित ‘बगान’ असार २९ मा रिलिज हुने

काठमाडौँ। अभिनयमा अब्बल क्षमता प्रस्तुत गर्ने अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ असार २९ गते रिलिज हुने भएको छ । रिलिज मितिसहित सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलाई राखिएको छ ।

यो चलचित्रमा तीन पुस्ताका कलाकारहरुको एकसाथ अभिनय रहेको छ । नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री बसुन्धरा भुषालसहित नीर शाह, मिथिला शर्माको पनि यस चलचित्रमा अभिनय रहेको छ । चलचित्रको बिषयबारे प्रष्ट पार्दै निर्देशक तथा पटकथाकार खनालले नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको बताए ।

“पुस्तकमा रहेका कथाहरु पढ्दै जाँदा स्वप्न नीरवजी को कथामा गएर म अड्किएँ । त्यहाँ उहाँले एउटा विशाल प्रश्न खडा गर्नुभएको रहेछ । मलाई यो प्रश्नको उत्तर हामीले दिनैपर्छ भन्ने लाग्यो” खनालले भने, “लेख्नेले त लेखेर आफ्नो दायित्व पुरा गर्नुभयो । एक व्यक्तिले उठाएको मुद्दालाई अन्य व्यक्तिहरुले समाजमा उजागर गर्नु हाम्रो धर्म हुन्छ  । त्यसकारण मैले उक्त कथालाई चलचित्रको स्क्रिप्ट लेखी र चलचित्र बनाए  । हामी एक्काइसौ शताब्दीमा छौं, समानताको कुरा गर्छौं तर कर्म गर्दैनौँ । मैले यो सिनेमाको माध्यमबाट कर्म गर्न खोजेको हो ।”

निर्माता सुरेश वाग्लेले चलचित्र मनोरञ्जनको साधन मात्र नभएर यसले समाजलाई बाटो देखाउने काम पनि गर्नुपर्ने बताए । उनले त्यसकारण नै चलचित्र बनाएको बताए । यहि चलचित्रबाट चलचित्र अभिनयमा प्रवेश गरेकी प्रमिला कार्कीले नयाँ भएको कारण अग्रजहरु सँग काम गर्ने आफ्नो ईच्छा रहेको बताइन् । उनले भनिन्, ‘पहिलो चलचित्र नै सबै अग्रज हरु संग काम गर्न पाउँदा एकदमै खुशी छु ।  उनले आफूलाई विश्वास गरेर अवसर दिएकोमा निर्देशक सरोज खनाल लाई बिशेष धन्यवाद दिन चाहन्छु ।’

यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने  कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *