बाढी-पहिरो : ४ जनाको मृत्यु, ३३ बेपत्ता

काठमाडौं । बाढी–पहिरोका कारण पूर्वका तीन जिल्लामा चार जनाको मृत्यु भएको छ । विभिन्न स्थानमा झरेको पहिरो र बाढीमा परी ३३ जना बेपत्ता भएका छन् ।

शनिबार राति आएको बाढी पहिरोले संखुवासभा, पाँचथर र ताप्लेजुङमा बढी क्षति भएको छ ।

बाढीले बगाउँदा संखुवासभाको पाँचखपन–९ का सन्तोष राईको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी पहिरोले पुरिएको अवस्थामा आइतबार बिहान उद्धार गरिएकी पाँचथरको फालेलुङ गाउँपालिकाकी ९ वर्षीया जुना सावदेनको उपचारको क्रममा मृत्यु भएको छ ।

पाँचथरको फिदिमस्थित माउन्टेन हाइड्रो पावर हाउसबाट बाढीमा बगेका ३० वर्षीय सन्जोग लोवाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा पहिरोमा परेर ३० वर्षीय गणेश तामाङको मृत्यु भएको छ ।

संखुवासभाको हेवा खोलामा आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुगेको प्रहरीले जनाएको छ ।

चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरमा क्षति पुगेको छ ।

पाँचथर र ताप्लेजुङमा गरी १२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । हेवा खोलामा आएको बाढीमा हिलिहाङ र फिदिममा ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै, ताप्लेजुङमा बाढी र पहिरोमा परी ८ जना बेपत्ता भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *