सोमबारदेखि काठमाडौंमा भारतीय चलचित्र प्रदर्शनमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबारदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र प्रदर्शन गर्न नदिने घोषणा गरेका छन् ।

भारतीय चलचित्र ‘आदिपुरुष’ मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउन तीन दिनको समय दिँदा पनि नहटाएको भन्दै उनले नहटाएसम्म सोमबारदेखि भारतीय चलचित्र चल्न नदिने बताएका हुन् ।

आइतबार फेसबुकमा बालेनले भारतीय चलचित्र प्रदर्शन गर्न नदिने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’

बालेनले उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको बताएका छन् । आइतबार बेलुकासम्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् ।

यसैबीच, मेयर शाहले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाउँदै ‘आदिपुरुष’ मा रहेको उक्त संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *