ताप्लेजुङ र पाँचथरमा बाढीले बगाएर १० जना बेपत्ता

विराटनगर । बाढीले बगाउँदा ताप्लेजुङ र पाँचथरमा १० जना बेपत्ता भएका छन् । स्थानीय खोलामा आएको बाढीले कतिपय घर बगाएका छन् । विभिन्न स्थानका पुलमा पनि क्षति पुगेको छ ।
पाँचथरको हेवा खोलामा आएको बाढीमा परी हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवासहित ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
फिदिम–४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एकजना, फालेलुङ–३ मा एकजना र फिदिम–४ माझीटारमा २ जना गरी ६ जना बेपत्ता भएको पाँचथरका डीएसपी हरि खतिवडाले बताए ।
बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोलाको पुल बगाएपछि सवारी साधन सञ्चालन ठप्प बनेको छ ।
याङवरक गाउँपालिका–३ र २ मा केही घर बगाएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका हुन् ।
मेहेलेकै भरत तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा बाढीले केही घर बगाएको जनाइएको छ । टोली घटनास्थलतर्फ गएकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।