जर्मनीमा नेपाली कामदार पठाउने सरकारको तयारी

काठमाडौं। युरोपेली मुलुक जर्मनीले नेपाली कामदार माग गरेपछि नेपाल सरकारले त्यसको तयारी गर्न थालेको छ।
विभिन्न क्षेत्रमा कामदारको अभाव रहेको भन्दै जर्मनीले नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको जनाइएको छ।
प्रस्ताव आएपछि नेपाली कामदार पठाउने आवश्यक तयारी अघि बढाइएको हो।
दुई देशबीच सम्झौता गरेर नेपाली कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको र त्यसका लागि सम्झौताको ड्राफ्ट मन्त्रिपरिषदमा पेश गरिएको मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताएका छन्।
उक्त सम्झौता मन्त्रिपरिषदबाट पारित भएपछि सम्झौता भएर नेपाली कामदार लैजाने बाटो खुल्ने जनाइएको छ। जर्मनीले कामदारका लागि तालिम पनि दिने जनाइएको छ।
जर्मनीले नेपालबाट कामदार लैजाने प्रस्ताव गरेपछि दुवै देशका अधिकारीहरूको टोलीले सम्झौताको खाका तयार पारेको थियो ।
नेपाली कामदारहरूलाई जर्मन कामदारसरह तलब तथा सेवा–सुविधा उपलब्ध गराइने जनाइएको छ।