अझै केही दिन उच्च तापक्रम रहने

काठमाडौं । अत्यधिक गर्मीले प्रभावित भएको जनजीवन तत्कालै सामान्य हुने सम्भावना कम रहेको मौसमविद्हरुले जनाएका छन् । देशका धेरैजसो ठाउँमा कायम रहेको अधिकतम तापक्रम अझै केही दिन रहने उनीहरुको भनाइ छ ।

तराईका अधिकांश स्थानमा केही दिनयता तातो हावा ‘लु’ चलिरहेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार यस वर्ष देशका धेरैजसो भूभागमा सरदरभन्दा कम पानी पर्ने र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने सम्भावना देखिएको बताए ।

नेपालमा जुन १३ देखि मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन तापक्रम बढ्ने उनको भनाइ छ । तराईका कतिपय स्थानमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । अधिकांश स्थानमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले गर्मीबाट बच्नका लागि परोपकारी संस्थाहरूले ठाउँ–ठाउँमा माटोको भाँडाहरूमा पानी राखेर खुवाउने, सातु खुवाउने, कागती पानी खुवाउने र मोही खुवाउनुपर्नेमा जोड दिए ।

गर्मीका कारण लुु लाग्ने, बान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।

तातो हावाबाट बच्न सकेसम्म चिसो ठाउँमा रहन, हलुका लुगा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा जुस, सर्बत जस्ता झोल पदार्थ प्रशस्त मात्रामा पिउन पनि आग्रह गरिएको छ ।

अत्यधिक गर्मी बढेपछि तराईका अधिकांश स्थानमा स्थानीय तहले विद्यालयहरुमा बिदा दिएका छन् । गर्मीबाट विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै बर्षे बिदाबाट कटाउने गरी बिदा दिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *