आज अभियुक्तका वकिलले बहस गर्दै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्ततर्फका कानुन व्यवसायीले आज बुधबारदेखि बहस गर्ने भएका छन् ।
हिजो सरकारी वकिल र जाहेरवालाको तर्फबाट बहस सकिएको थियो । आजदेखि अभियुक्त पक्षका वकिलहरुले बहस गर्ने भएका हुन् ।
गत आइतबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ ।
बहसका लागि पूर्व महान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका अध्यक्षसमेतले नाम टिपाएका छन् ।
न्यायाधीश न्यौपानेले बहसका लागि आगामी मंगलबारसम्मको समय तोकेका छन् । त्यसपछि सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ ।
बहस सकिएपछि अदालतले थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा छाड्ने भन्ने आदेश दिनेछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत १८ जना पक्राउ परेका छन् ।
यस प्रकरणमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।