खप्तडमा आजदेखि अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन

काठमाडौं । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा आज मंगलबारदेखि अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुँदैछ । सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल खप्तड प्रस्थान गरेका छन् ।

जेठ २५ गतेसम्म सञ्चालन हुने आध्यात्मिक सम्मेलनमा प्रसिद्ध भारतीय योगगुरु स्वामी रामदेव, पतञ्जली योगपीठका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण, चतरामा बस्दै आएका सिद्धबाबा कृष्णदास महाराजलगायत आध्यात्मिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा सहभागी हुन पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु तथा मन्त्रीहरु पनि सहभागी हुन खप्तड पुग्ने क्रम जारी रहेको खप्तड क्षेत्र पर्यटक विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए ।

सम्मेलनको पहिलो दिन स्वामी रामदेवले सहभागीहरुलाई योग, ध्यान गराउने र प्रवचन दिने कार्यक्रम छ । दुई दिन भने आचार्य बालकृष्णले योग गराउने छन् ।

सम्मेलनमार्फत खप्तडको आध्यात्मिकता र संस्कृति छिमेकी मुलुक भारतसहित विश्वभर पुर्‍याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

जैविक विविधता र प्राकृतिक सौन्दर्य तथा आध्यात्मिक आस्थाको धरोहरका रुपमा रहेको खप्तड क्षेत्रलाई आध्यात्मिक केन्द्रका रुपमा विकास गर्न यो सम्मेलन आयोजना गरिएको व्यवस्थापन समितिले जनाएको छ ।

पौराणिककालमा ऋषिमुनिहरुले तपस्या गरेको यो क्षेत्रलाई ‘खेचरादी’ पर्वतका रुपमा वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम विस्तारै अपभ्रंश हुँदै खप्तड रहन गएको किंवदन्ती छ । १४ वर्ष वनबास बस्दा पाण्डवहरुले केही समय यस स्थानमा बिताएको पौराणिक कथन छ ।

डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको सीमा क्षेत्रमा पर्ने खप्तडलाई भू–स्वर्गको उपमाले चिनिन्छ । ७७ वर्षअघि खप्तड पुगेका खप्तड बाबाले ध्यान, तपस्या गरेको पवित्र ठाउँ खप्तड प्राकृतिक, जैविकका साथै धार्मिक तथा पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्यका रुपमा परिचित बन्दै गइरहेको छ । यो क्षेत्र धार्मिक तथा बहुमूल्य जडिबुटीका लागि प्रख्यात छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *