सुनकोशीमा गाडीसहित बेपत्ता भएका ३ जनाको अवस्था अझै अज्ञात

काठमाडौं । सुनकोशी नदीमा गाडीसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का तीनजना कर्मचारी अझै फेला परेका छैनन् ।

दुर्घटनामा परिषद्का दुईजना निर्देशक र एकजना अधिकृतलाई बेपत्ता भएका थिए । गोताखोर टोलीले आज शनिबार पनि खोजी कार्य जारी राखेको छ ।

सशस्त्र प्रहरीको गोताखोर टोली शुक्रबार पनि खोजी गरेको थियो । तर उनीहरु फेला पर्न सकेका छैनन् ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा१झ ७४६७ नम्बरको स्कार्पियो गाडी शुक्रबार मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७, लौकुन सडक खण्डबाट सुनकोशीमा खसेर बेपत्ता भएको हो ।

बेपत्ता हुनेमा प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक अधिकृत भानु पौडेल छन् ।

दाङ घर भएका चालक कृष्ण चौधरी भने पौडिएर निस्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *