नेपालले मलेसियालाई २७ रनले हरायो

काठमाडौं । महिला टि–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको छ । जितसँगै नेपालले पाँच खेलको शृङ्खलामा २–१ को अग्रता बनाएको छ ।
आज भएको तेस्रो खेलमा जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्रै बनायो ।
मलेसियाकी महिराह इजाती इस्माली सर्वाधिक ४४ रनमा अविजित रहिन् ।
नेपालका कविता कुँवर, सीता राना मगर र इन्दु बर्माले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन जोडिन् भने ज्योति पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाए ।
मलेसियाकी निक नुर डीनले २ विकेट लिइन्। त्यस्तै एलिसा फिर्दुज र विनफ्रिद आनीले समान एक–एक विकेट लिए ।
पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो ।
शृङ्खलाअन्तर्गत पर्सि शनिवार चौथो र आइतवार पाँचौँ तथा अन्तिम खेल हुनेछ ।