हचुवाका भरमा क्यानाडामा ‘नेपाली म्युजिक भिडियो अवार्ड कार्यक्रम’

काठमाडौं । क्यानाडाको टोरन्टोमा आयोजित ‘दोस्रो स्टार म्युजिक भिडियो अवार्ड २०२३’ विवादित बनेको छ ।

तामझामका साथ गरिएको कार्यक्रममा सहभागीहरुको संख्या अत्यन्त न्यून थियो । अढाइ सयभन्दा बढी कुर्सी तयार गरेर आयोजना गरिएको कार्यक्रममा सहभागीहरु करिब ५० जना मात्र जुटे ।

ठूलो खर्च गरेर आयोजना गरिएको कार्यक्रम व्यवस्थित नहुँदा कार्यक्रम खल्लो बनेको त्यहाँ सहभागी नेपालीहरुले बताएका छन् ।

नेपालमा दर्ता भएको ‘ग्रेट नटराज फिल्मस् प्रालि’ ले आयोजना गरेको कार्यक्रममा नेपालबाट करिब तीन दर्जन कलाकार बोलाइएको भनिएको थियो ।

क्यानाडाको टोरन्टो क्षेत्रस्थित मिसिसागाको पियर्सन कन्भेन्सन सेन्टरको हलमा आयोजिन कार्यक्रम अपेक्षित रुपमा सफल हुन नसकेको प्रतिक्रिया सहभागीहरुले दिएका थिए ।

कार्यक्रममा आयोजक नै उपस्थित भएको नपाएपछि सहभागीहरु अन्योलमा परेका थिए । नेपालमै गर्न सकिने अवस्थाको सामान्य कार्यक्रम त्यति टाढा पुगेर गर्दा पनि अव्यवस्थित र सहभागिता न्यून हुनुलाई उदेक मानिएको छ ।

कार्यक्रममा उद्घोषण गरिरहेका नरेश भट्टराईले अवार्डको पहिलो संस्करण गत वर्ष काठमाडौंमै भएको जानकारी दिएका थिए ।

आयोजक उपस्थित थिएनन् । त्यहाँ कार्यक्रम सञ्चालन गर्नेहरुले उक्त कार्यक्रम क्यानाडामा आयोजना गर्नुको औचित्य पुष्टि गर्नेखालका अभिव्यक्ति दिएनन् ।

नेपाली गीत, संगीत र फिल्मलाई ‘ग्रेट नटराज’ संस्थाले विश्वव्यापी बनाउने उद्देश्य राखेको बताइए पनि अवार्ड दिइने भनिएका विभिन्न १९ विधाको भिडियो प्रदर्शन गरिएन । सहभागीहरुले हचुवाका भरमा कार्यक्रम आयोजना गरिएको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा नेपालबाट लोकगायिका टीका पुन, कलाकार पल्पसा डङ्गोल, सुधीर श्रेष्ठ, गम्भीर बिष्ट, रोशन श्रेष्ठ, मानसिंह खड्का, मनोज बिक, सुष्मा अधिकारी, स्मृति शाही, सुरेन्द्र बस्याललगायत पुगेका थिए ।

कार्यक्रममा सीमित सहभागीमध्ये एनआरएनए क्यानाडाका पूर्वअध्यक्ष अनिल थापा, पूर्वमहासचिव किस्मत भण्डारी, नेप्लिज क्यानेडियन नेटवर्क अफ क्यानाडा का सचिव भूमिराज घिमिरेलगायतको उपस्थिति थियो ।

आयोजक संस्थाका अध्यक्ष अशोक विकसहित चार जनाको भिसा नलागेका कारण उनीहरु त्यहाँ पुग्न नसकेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *