४८ वर्षअघि युवतीको हत्या, ४० वर्षअघि अभियुक्तको मृत्यु, बल्ल खुल्यो रहस्य

अन्टारियो। झण्डै पाँच दशकअघि क्यानाडाको मन्ट्रियलमा एक युवतीको बलात्कारपछि हत्या भएको खुलेको छ। ‘अनसल्भ्ड मिस्ट्री’ मानिएको यो मामिला उक्त तथ्य प्रमाणित भएसँगै सुल्झिएको छ।

उक्त घटनाका आरोपीको मृत्यु भइसकेको ४० वर्षपछि ‘डीएनए’ परीक्षणबाट यो तथ्य खुलेको हो।

सन् १९७५ मा मन्ट्रियलमा १६ वर्षीया शेरोन प्रायरको हत्या भएको थियो। त्यस घटनाबारे अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको तथ्य पत्ता लागेको प्रहरीले जनाएको छ।

उक्त हत्यामा वेस्ट भर्जिनियाका फ्र्यांकलिन मेउड रोमनको संलग्नता रहेको खुलेको थियो। उनको ४० वर्षअघि मृत्यु भइसकेको छ।

ती युवतीको बलात्कारपछि हत्या भएकोचाहिँ हालै आएर खुलेको हो।

क्युबेक प्रहरीले ४८ वर्षअघि भएको १६ वर्षीया युवती शारोनको हत्याअघि बलात्कार भएको पाइएको जनाएको छ।

प्रहरीका अनुसार डीएनए परीक्षणका लागि अभियुक्त रोमनलाई गाडिएको स्थानबाट नमुना निकालिएको थियो।

उनको डीएनए र युवतीको हत्या भएको स्थानमा फेला परेका प्रमाण र नमुनाहरुसँग मेल खाएको प्रहरीले उल्लेख गरेको छ।

शेरोन १९७५ मार्च २९ देखि बेपत्ता भएकी थिइन्।

उनी मन्ट्रियलकै चार्ल्स पिज्जा पार्लर गएको पछि खुलेको थियो। उनी त्यहाँ साथीहरुलाई भेट्न भनेर गएको अनुसन्धानबाट पत्ता लागेको थियो।

उनी सम्पर्कविहीन भएको तीन दिनपछि लङ्गुइलको जंगलमा उनको शव फेला परेको थियो।

घटनापछिका ४८ वर्ष एक सयभन्दा बढी शंकास्पद व्यक्तिहरुमाथि सोधपुछ र अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा सोधपुछ गरिए पनि स्पष्ट प्रमाणको अभावमा कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थिएन।

प्रहरीका अनुसार रोमिन आपराधिक प्रवृत्तिका व्यक्ति थिए। उनी विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएको थियो।

प्रहरीले उनलाई खोजी गरिरहेको थियो तर उनी पक्राउ पर्नबाट बच्न एक ठाउँबाट अर्को ठाउँ भागिरहन्थे।

१९७४ मा उनलाई वेस्ट भर्जिनियाको पार्कर्सबर्गमा एक घरमा प्रवेश गरेर महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको थियो।

त्यसको दुई महिनापछि २ हजार ५०० डलर धरौटीमा उनी छुटेका थिए।

त्यसपछि उनी क्यानाडा छाडेर भागेका थिए। त्यसको एक वर्षपछि उनले क्यानेडियन मूलकी ती युवतीलाई बलात्कारपछि हत्या गरेका थिए।

क्यानाडाको प्रहरीले उनलाई पक्राउ गरी भर्जिनिया पठाइएको थियो। त्यसपछि पार्कर्सबर्ग यौन उत्पीडन मुद्दामा उनलाई १० वर्षको सजाय सुनाइएको थियो।

सन् १९८२ मा रोमिन जेलमुक्त भएका थिए। करिब ४० वर्षको उमेरमा उनको मृत्यु भएको थियो।

उनको मृत्यु कसरी भयो भन्नेबारे अझैसम्म केही नखुलेको प्रहरीले जनाएको छ।

प्रहरीले शव उनकी आमालाई जिम्मा दिएको थियो। त्यसपछि वेस्ट भर्जिनियास्थित पाइन ग्रोभमा उनको शव गाडेर अन्तिम संस्कार गरिएको थियो। प्रहरीले डीएनए परीक्षणका क्रममा त्यहीँबाट नमुना निकालेको थियो।

–क्यानाडाबाट प्रकाशित ‘नेपालटच’ बाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *