विराटनगरमा धर्ना, जुलस प्रदर्शन गर्न निषेध

विराटनगर । मोरङ जिल्ला प्रशासनले मुख्यमन्त्री निवासलगायतको विराटनगर बजार क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । आज शनिबारदेखि अनिश्चितकालका लागि निषेधित क्षेत्र तोकिएको प्रशासन कार्यालयले जनाएको छ ।

कोशी प्रदेश नामकरणपछि पहिचानवादी पक्षहरुले गर्दै आएको विरोधलाई मध्यनजर गरी शान्ति सुरक्षा कायम गर्न निषेधित क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

आज बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारी साधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, ‍र्याली, धर्ना जस्ता काय गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषेध गरिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

कोशी प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास तथा प्रदेश प्रमुखको कार्यालय तथा निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेधित क्षेत्र तोकिएको छ । आदेश उल्लंघन गरिए कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

कोशी प्रदेशको बजेट अधिवेशन जेठ १४ गते सुरु हुँदैछ । आइतबारदेखि सुरु हुने बजेट अधिवेशन र सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले निषेधित क्षेत्र तोकेको हो ।

प्रदेश सभाको गत फागुन १७ गतेको बैठकले कोशी प्रदेश नामकरण गरेको थियो । उक्त नामप्रति असहमति जनाउँदै पहिचानवादी विभिन्न पक्षले विरोध प्रदर्शन गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *