खप्तड क्षेत्रमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुँदै

काठमाडौं । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीयस्थल खप्तड क्षेत्रमा जेठ २३ देखि २५ गतेसम्म ‘अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन’ आयोजना हुने भएको छ ।

खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिले काठमाडौमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्दै प्रदेशको विकासमा टेवा पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको समितिले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा सम्मेलन हुने भएको हो । सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव र बालकृष्ण आचार्यको पनि सहभागिता रहने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।

सम्मेलनका लागि मुख्यमन्त्री शाहको संयोजकत्वमा ४०१ सदस्यीय सम्मेलन मूल तयारी समिति गठन गरिएको छ । १२ उपसमिति गठन गरिएको छ ।

सम्मेलन आयोजनाका लागि प्रदेश सरकारअन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको समितिले जनाएको छ ।

खप्तड क्षेत्रमा खप्तड बाबाले पाँच दशकसम्म साधना गरेका थिए । त्यहाँ खप्तड बाबाको कुटी, सहश्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) र झरनाहरु छन् ।

खप्तड क्षेत्रमा विभिन्न महत्वपूर्ण जडिबुटी पाइन्छ । राष्ट्रिय निकुञ्जसमेत रहेको उक्त क्षेत्र झन्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *