दुवै खुट्टा नभएका हरि सगरमाथा चुचुरो पुग्ने प्रयासमा

काठमाडौं । दुवै खुट्टा गुमाएका पूर्वगोर्खा सैनिक हरि बुढामगरले सगरमाथा आरोहणको प्रयास गर्ने भएका छन् । त्यसका लागि उनी सोलुखुम्बुको लुक्ला प्रस्थान गरेका छन् ।
विमानमार्फत् उनी बुधबार काठमाडौंबाट सोलुखुम्बुको लुक्ला प्रस्थान गरेका हुन् । आरोहण सुरु गनुृअघि उनले आधारशिविर अरु क्षेत्रमा अभ्यास गर्ने जनाइएको छ ।
उनको सगरमाथा आरोहण मे महिनामा सुरु हुनेछ । दुवै खुट्टा नभएका उनले कृतिम खुट्टा (प्रोस्थेटिक) लगाएका छन् । त्यसैको सहायतामा उनले सगरमाथा आरोहण प्रयास गर्नेछन् ।
बेलायती सैनिकमा कार्यरत रहँदा सन् २०१० अप्रिलमा अफगानिस्तान पुगेका बेला विद्युतीय धरापमा परेर उनले दुवै खुट्टा गुमाएका थिए ।
सरकारले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ संशोधन गरी दुवै खुट्टा वा दुवै हात गुमाएका तथा दुवै आँखा देख्न नसक्नलेलाई आरोहण अनुमतिमा रोक लगाएका कारण सन् २०१९ मा सगरमाथा चढ्ने उनको योजना अधुरो थियो ।
सरकारले नियमावलीको उक्त प्रवधानलाई संशोधन गर्दै आरोहणका लागि खुला गरेपछि उनलाई सहज भएको हो ।
यसअघि उनले बेलायतको सबैभन्दा अग्लो हिमाल बेन नेभिस, नर्थ अफ्रिकाको माउन्ट टुब्कल, अफ्रिका महादेशकै अग्लो हिमाल किलिमान्जरो र नेपालका चुलु फारइस्ट र मेरापिक हिमाल आरोहण गरिसकेका छन् ।
बुढामगरको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन् १९७९ मा भएको थियो ।