‘हिन्दु राज्य’ बारे अमेरिकी प्रतिवेदनप्रति राप्रपाको असहमति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकाले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ मा उल्लेख भएको विवरणप्रति असहमति जनाएको छ ।

‘हिन्दु राज्य’ को पक्षमा अभिव्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र भारतका अन्य हिन्दु समूहले रकम दिने गरेको अमेरिकाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

उक्त प्रतिवेदनमा उल्लेखित कुरामा राप्रपाले असहमति जनाउँदै नेपालस्थित अमेरिकी राजदूतावासमार्फत् पत्राचार गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त प्रतिवेदनमाथि असहमति जनाउँदै अमेरिकी राजदूत डीन आर थम्प्सनलाई पत्र लेखेका हुन् ।

अमेरिकी विदेश मन्त्रालयको उक्त प्रतिवेदन एकपक्षीय र पूर्वाग्रही भएको पनि अध्यक्ष लिङ्देनको भनाइ छ ।

‘प्रतिवेदनले एकतर्फी पूर्वाग्रहलाई प्रतिबिम्बित गरेको छ, जसले गर्दा सन्तुलित, भरपर्दाे र वास्तविकता प्रस्तुत गर्नबाट सो प्रतिवेदन पुरै चुकेको छ,’ पत्रमा राप्रपाले भनेको छ, ‘नागरिक समाजका नेताहरूले आरोपलाई समर्थन गर्ने कुनै ठोस प्रमाण पेस गरेका छैनन्, यसबाहेक प्रतिवेदनले राप्रपाबाट कुनै विचार वा प्रतिक्रिया खोज्न असफल भएको छ ।’

हिन्दु राज्य स्थापनाका लागि आफूहरु सक्रिय रहेको जनाउँदै राप्रपाले बाह्य सहयोग र त्यो पनि आर्थिक सहयोगलाई अस्वीकार गरेको पनि पत्रमा उल्लेख गरिएको छ ।

‘हामी हाम्रा एजेन्डा र लक्ष्यहरू स्थापना गर्नका लागि हाम्रा मित्र राष्ट्रहरूबाट सद्भाव र शुभेच्छाको स्वागत गर्दछौँ । तथापि, राप्रपाले कुनै पनि प्रकारको बाह्य हस्तक्षेप र आर्थिक समर्थनलाई स्वीकार गर्दैन,’ पत्रमा भनिएको छ ।

‘प्रतिवेदनमा लगाइएका व्यापक आरोपहरूले हाम्रो छविलाई धमिलो पार्छ,’ पत्रमा भनिएको छ, ‘हामी अमेरिकाको विदेश मन्त्रालयलाई प्रतिवेदनका कमजोरीहरू पुनः हेर्न र सुधार गर्न आग्रह र आह्वान गर्दछौँ ।’

उक्त प्रतिवेदनले नेपाल र अमेरिकाबीच बैमन्यस्यता उत्पन्न गराउने पनि उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *