भ्रष्टाचार निवारणसम्बन्धी विधेयक संसदीय समितिमा पठाइने

काठमाडौं । सरकारले भ्रष्टाचार निवारणसम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको गरेको छ । उक्त विधेयकमा विस्तृत छलफल गर्न संसदीय समितिमा पठाइने भएको छ । आज सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘सरकारले संसदमा ल्याएको विधेयक छलफलका लागि समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकले विधेयकलाई समितिमा पठाउने निर्णय गर्नेछ । यसैगरी पूर्वसभासद पुरुषोत्तम बस्नेतको निधनमा बैठकले शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

भ्रष्टाचार निवारणसम्बन्धी विधेयकमा भ्रष्टाचारको मुद्दामा हदम्याद राखिएकामा विभिन्न क्षेत्रबाट विरोध भएको छ ।

पहिलेको ऐनमा भ्रष्टाचारको मुद्दामा हदम्याद राखिएको थिएन । भ्रष्टाचार आरोपीको मृत्युपछि पनि मुद्दा चल्न सक्ने प्रावधान थियो ।

प्रस्तावित विधेयकमा भने पाँच वर्षपछि मुद्दा नचल्ने व्यवस्था गरेर भ्रष्टाचारीलाई उन्मुक्ति दिने प्रयास गरिएको भनेर टिप्पणी भएको छ ।

भ्रष्टाचारको मुद्दा जहिलेसुकै चलाउन सकिने ऐनको दफा ४५ को प्रावधानलाई संशोधन गर्दै विधेयकमा भनिएको छ, ‘भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्यभएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ ।’

उक्त विधेयक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट २०७६ माघ १४ गते राष्ट्रियसभामा पेश भएको थियो ।

सामान्य छलफल गरेर राष्ट्रियसभाले विधेयक समितिमा पठाएको थियो । समितिले फागुन ६ गते दफावार छलफल गरी ०७७ असार ७ गते सभालाई प्रतिवेदन बुझाएको थियो ।

राष्ट्रियसभाबाट प्राप्त भ्रष्टाचार निवारणसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट मन्त्री रेखा शर्माले बैशाख १२ गते प्रतिनिधिसभामा टेबल गरेकी थिइन् । सोही विधेयक सोमबार सम्बन्धित समितिमा दफवार छलफलका लागि पठाइने भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *