नयाँ ‘मिस्टर नेपाल’ को खोजी सुरू

विराटनगर । नयाँ ‘मिस्टर नेपाल’ को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले विज्ञप्ति जारी गर्दै मिस्टर नेपालको नयाँ संस्करण अर्थात ‘मिष्टर नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको हो ।
यो पटक मिस्टर नेपाल ‘न्यु लुक मिष्टर नेपाल’ को नामबाट आयोजना हुनेछ । कोशी प्रदेशमा मिस्टर नेपालका प्रदेश निर्देशक रूपमा विराटनगरका चर्चित फेसन इभेन्ट आयोजक रोनक अग्रवाल नियुक्त भएका छन् ।
प्रदेश निर्देशक अग्रवालका अनुसार १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि आवेदन लिनसक्ने छन् ।
प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगिताको अडिसन वैशाख २९ गते दमकको गोर्खाली टोलस्थित होटल थ्री इनमा ११ बजे देखि हुनेछ भने वैशाख ३० गते विराटनगरको कञ्चनबारीस्थित ह्वाइट हाउस थकाली किचेन रेष्ट्रोमा ११ बजे देखि हुनेछ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्व सहित ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।
देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा, स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जनभन्दा बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ ।
प्रतियोगितामा नेपालको आन्तरिक पर्यटन विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो ।
प्रतियोगितामा सहभागिताका लागि यो लिङ्कमा गएर फाराम भर्न सकिने जनाइएको छ ।