नागरिकता विधेयक अनुमोदन गराउन प्रधानमन्त्रीको पहल

काठमाडौं । अघिल्लो संसदबाट पारित भई राष्ट्रपति कार्यालयमा पुगेर थान्को लागेको नागरिकता विधेयक अनुमोदन गराउने प्रयासमा सरकार लागिपरेको छ ।
आइतबार बिहान विधेयक अघि बढाउनेबारे राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शीतलनिवासमा छलफल भएको छ ।
प्रधानमन्त्री दाहालले अघिल्लो संसदबाट पारित भई राष्ट्रपति कार्यालयमा थन्किएको रहेको नागरिकता सम्बन्धी विधेयक अनुमोदन गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेका छन् ।
यसअघि शनिबार सत्ता गठबन्धनका नेताहरुले बालुवाटारमा कानुनविद एवं नेपाल बारका पदाधिकारीलाई बोलाएर नागरिकता विधेयकबारे सुझाव मागेका थिए ।
नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायतले नागरिकता विधेयक राष्ट्रपतिले अघि बढाउन सक्ने सुझाव दिएका थिए ।
आइतबार बिहान प्रधानमन्त्रीले यो कुरा राष्ट्रपतिलाई जानकारी गराएको उनीनिकट नेताले बताएका छन् ।
प्रधानमन्त्रीसँगको भेटपछि राष्ट्रपति पौडेलले आइतबार दिउँसो १ बजे यसबारे छलफल गर्न कानुनविदहरुलाई शीतलनिवास बोलाएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी उक्त विधेयक थन्क्याइएको थियो ।
राष्ट्रपति पौडेलले उक्त विधेयक अब के हुन्छ भन्ने सम्बन्धमा परामर्श गर्न कानुनविदहरुसँग छलफल गर्न लागेका हुन् ।
अघिल्लो सरकारका पालामा दुवै सदनबाट पास भएको नागरिकता विधेयक शीतलनिवास पठाइएको थियो । तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि रोकिएको थियो ।