भारतको मणिपुरमा हिंसात्मक झडप: ५४ जनाको मृत्यु

काठमाडौं । भारतको मणिपुर राज्यमा दुई समुदायबीचको हिंसामा ज्यान गुमाउनेको सङ्ख्या ५४ पुगेको छ ।
विभिन्न ठाउँमा दुई समुदायबीच झडप र प्रहरीको गोली लागेर ५४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
स्थानीय प्रहरी अधिकारीले अनौपचारिक रुपमा दिएको जानकारी अनुसार भने मृतकको सङ्ख्या त्यसभन्दा धरै रहेको अनुमान छ ।
मणिपुरमा सातायता हिंसा भड्किएको छ । ठाउँ ठाउँमा आगलागी र आक्रमणका घटना भएका छन् ।
स्थितिलाई शान्त बनाउन केन्द्रीय सरकारले हजारौँ सेना र र्यापिड एक्सन फोर्स मणिपुर पठाएको छ । सडकमा सेनाले मार्चपास गरिरहेका छन् ।
भारतीय सेनाका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्नल महेन्द्र रावतले मणिपुरको प्रभावित क्षेत्रमा कर्फ्यु लगाइएको र सेनालाई सिधै गोली हान्ने अधिकार दिएको बताएका छन् ।
सरकारले मणिपुरमा पाँच दिनको लागि इन्टरनेट बन्द गरेको छ । हिजो र आज मणिपुर आउजाउ गर्ने सबै रेल सेवा पनि रोकिएका छन् ।