शान्तिका अग्रदूतको सम्झनामा विशेष कार्यक्रम

काठमाडौं । आज २५६७ औँ बुद्ध जयन्ती । यस अवसरमा देश–विदेशमा शान्तिका अग्रदूत गौतम बुद्धको पूजा आराधना गरी मनाइँदैछ ।

यसै अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीलगायत स्थानमा बुद्ध धर्मको महत्वबारे चर्चा–परिचर्चा र प्रवचन कार्यक्रमहरु आयोजना गरिएको छ ।

सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आज विशेष समारोह आयोजना गरिएको छ ।

बुद्ध जयन्ती मनाउन लुम्बिनी क्षेत्रलाई सिँगारेर आकर्षक बनाइएको छ ।

लुम्बिनीका मायादेवी मन्दिर, अशोक स्तम्भ र अरु पुरातात्त्विक महत्वका संरचनाहरू सिँगारिएको छ ।

ठाउँ–ठाउँमा बुद्ध वचन, वाणी र पञ्चशीलका तुल टाँगिएका छन् ।

काठमाडौंको स्वयम्भू र बौद्धमा पनि बुद्ध जयन्ती अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन अर्थात् आजकै दिन भएकोले विभिन्न गुम्बा तथा बुद्ध धर्म मान्ने सम्प्रदायको क्षेत्रमा पनि विशेष समारोह आयोजना गर्ने चलन छ ।

यसैबीच, बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध नेपालमा जन्मनु गर्वको कुरा भएको बताएका छन् ।

उनले बुद्धका वाणी र उपदेश अवलम्बन गरे सबैका लागि हितकारी हुने उल्लेख गरेका छन् ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको उल्लेख गरेका छन् ।

बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य र एकताका लागि अग्रसर हुनु नै बुद्धप्रतिको सच्चा सम्मान हुने प्रधानमन्त्री दाहालले सन्देशमा जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *