मुलुकी अपराध संहिता संशोधन गर्ने अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मुलुकी अपराध संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन् ।

सरकारले मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन बनाउन उक्त अध्यादेश सिफारिस गरेको थियो ।

अध्यादेशले मुलुकी अपराध संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा कानुनी रूपमा परिभाषित गर्दै त्यस्तो कार्य दण्डनीय हुने प्रावधान गरेको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मुलुकी अपराध संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेको जानकारी दिए ।

सरकारले यसअघि १९ चैतमा आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरुसँगको सम्झौताका क्रममा ‘फास्ट ट्र्याक’ बाट कानुन ल्याएर मिटरब्याजीलाई कारबाहीको प्रक्रिया अघि बढाउने भनेको थियो ।

मिटरब्याजपीडितका मागबारे उजुरी लिन र अनुसन्धान गर्न सरकारले तीन सदस्यीय आयोग गठन गरी आयोगले कामसमेत थालिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *