यूएईलाई ७ विकेटले हराउँदै नेपाललाई एसीसी कपको उपाधि

काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । जितसँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपका लागि छनोट भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई ११८ रनको लक्ष्य दिएको थियो ।
नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । नेपालका गुल्सन झाले ८४ बलमा ६७ रन बनाए ।
नेपालका कुशल भूर्तेल १, आसिफ शेख ८ र कप्तान रोहितकुमार पौडेल १ रनमा आउट भएका थिए । यूएईका रोहन मुस्ताफाले २ र आयन अफजल खानले १ विकेट लिएका थिए ।
यसअघि सोमबार भएको खेल वर्षाका कारण स्थगित गरिएको थियो । मंगलबार त्यही खेललाई निरन्तरता दिइएको हो ।
सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको थियो । तयसपछि वर्षाका कारण खेल स्थगित गर्नुपरेको थियो ।
सोमबारकै स्कोरबाट खेल्न सुरु गरेको यूएई ५.४ ओभरमात्र टिक्न सक्यो । उसले टोलीले ११ रन थप्यो ।