प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बार एसोसिएसन आन्दोलित

काठमाडौँ । प्रधानन्यायाधीशको चाँडो नियुक्ति माग गर्दै नेपाल बार एसोसिएसन आन्दोलित बनेको छ । ढिलाइको विरोध गर्दै बारले आइतबारदेखि आन्दोलन गर्ने भएको हो ।
लामो समयसम्म प्रधानन्यायाधीश र न्यायाधीश नियुक्त हुन नसक्दा न्यायसम्पादनमा असर पुगेको बारको ठम्याइ छ ।
चाँडो प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिन आजदेखि आन्दोलन सुरु हुने बारले जनाएको छ ।
दिउँसो १ बजे काठमाडौंस्थित बार एसोसिएसनको मुख्य कार्यालय परिसरबाट आन्दोलन सुरु गरिने जनाइएको छ ।
यसअघि बारले पटक पटक प्रधानन्यायाधीश नियुक्त गर्न आग्रह गर्दै आएको थियो । प्रधानमन्त्रीलगायत सम्बन्धित मन्त्रीसमक्ष बारले यस्तो आग्रह गर्दै आए पनि अझैसम्म नियुक्त हुन सकेको छैन ।
लामो समयदेखि माग गदैृ आए पनि पूरा नभएपछि आन्दोलन गर्नुपर्ने अवस्था आएको नेपाल बार एसोसिएसनका महासचिव, अधिवक्ता अन्जिता खनालको भनाइ छ ।
प्रतिनिधिसभामा निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरमाथि महाभियोग प्रस्ताव दर्ता भएपछि गत वर्ष फागुनदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा छ।
संसदीय सुनुवाइ समिति गठन नभइसकेकाले तत्कालीन कायममुकायम प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्षले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेका तीनजनाको नियुक्ति रोकिएको छ ।
प्रारम्भिक चरणमा बारको दबावमूलक आन्दोलन एक सातासम्म जारी रहने जनाइएको छ ।