पूर्वराजाको ओलीलक्षित प्रतिक्रिया, ‘आस्था र मर्यादामा आँच पुर्याउने काम नहोस्’

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आस्था र मर्यादामा आँच नपुर्‍याउन आग्रह गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो आग्रह गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शुक्रबार वक्तव्य जारी गर्दै निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपुर्‍याउन आग्रह गरिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बिहीबार इलाममा आयोजित कार्यक्रममा झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको दाबी गरेका थिए ।

उनले त्यसप्रति आक्रोस पनि पोखेका थिए । त्यस क्रममा ओलीले अमर्यादित रुपमा टिप्पणी गरेको भनेर पनि आलोचना भइरहेको छ ।

ओलीले भनेका थिए, ‘ज्ञानेन्द्र शाह उसको परिवार, उनको बुहारी जान्ने भएर जनताले ढुंगा होनेको देखिन् । ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे । मैले यसको जवाफ दिनु नपरोस् बढ्ता फुरफुर नगर । फुरफुर गर्ने होइन । हामीले हिसाब किताब नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौँ । अनेक हिसाबकिताब गरेका छैनौँ । हिसाब किताब गर्न सुरु गर्न नपरोस् । छोराबुहारी अगाडि सारेर फुरफुर नगर ।’

ओलीले सामाजिक सञ्जाल मार्फत् पूर्व राजाको परिवारले आफूमाथि टिप्पणी गरेको दाबी गरे पनि संवाद सचिवालयले यसको खण्डन गरेको छ ।

पूर्वराजाको संवाद सचिवालयले ज्ञानेन्द्र शाह, हिमानी शाहले कुनै पनि सामाजिक सञ्जाल सञ्चालन नगरेको स्पष्ट गरेको छ ।

यसबारे सचिवालयले २०७८ मंसिर २३ गते पनि स्पष्ट गरिसकिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *