पूर्वलडाकुलाई पैसा बाँड्ने कुरामा कोइरालाको आपत्ति: भने, ‘स्वीकार्य हुनेछैन’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादीका ‘पूर्व अयोग्य लडाकु’ लाई पैसा बाँड्ने कुरामा असन्तुष्टि जनाएका छन् । उनले त्यस्तो कार्य स्वीकार्य नहुने बताएका छन् ।

नेता कोइरालाले बिहीबार बिहान सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै पूर्व अयोग्य लडाकुहरुलाई पैसा बाँड्ने काम स्वीकार्य नहुने उल्लेख गरेका हुन् ।

अयोग्य पूर्वलडाकुलाई पैसा नभइ रोजगारी दिनुपर्ने उनको भनाइ छ । सरकारी कर्मचारी र पूर्वशिक्षकहरूको पेन्सन दिन समेत नसक्ने अवस्थामा यसरी रकम बाँड्नु नहुने कोइरालाको तर्क छ ।

उनले माओवादी नेतृत्वको सरकारको यस्तो निर्णयको विरोध गर्न पनि सबैलाई अनुरोध गरेका छन्।

नेता कोइरालाले फेसबुकमा लेखेका छन्, ‘विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरूको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन। माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौँ, रोकौँ र भविष्यका लागि सचेत बनौँ। उनीहरूलाई पैसा होइन, रोजगारी दिऔँ।’

सरकारले गत चैत ६ को मन्त्रिपरिषद बैठकबाट जनयुद्धका अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाखका दरले राहत दिने निर्णय गरेकाे थियाे।

सरकारले चालु आर्थिक वर्षभित्रै राहत वितरण गर्ने गरी कार्यविधि बनाउन प्रक्रियासमेत सुरु गरिसकेको बताइएकाे छ। सरकारको यो निर्णयको चाैतर्फी विराेध भएकाे थियाे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *