‘ठूला’ दलहरूको घट्दो साख : आफ्नै मत जोगाउन कठिन

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि तीन स्थानमा भएको उपनिर्वाचनबाट पुराना भनिएका दलहरु किनारामा परेका छन् । निर्वाचनअघि ती दलका शीर्ष नेता, बहालवाला र पूर्व प्रधानमन्त्री समेतको लर्को लागेर चुनावी कार्यक्रमहरु गरिए पनि त्यसले फाइदा भएको देखिएन ।

लामो समयसम्म देशमा शासन गरेका दल र तिनका नेताप्रति आम मतदाताको विकर्षणमात्र होइन उनीहरुको कार्यशैलीप्रति घोर असन्तुष्टि समेत यसपटक देखिएको छ ।

चितवन, तनहुँ र बारामा गत आइतबार भएको उपनिर्वाचनमा परम्परागत राजनीतिक दललाई बेवास्ता गर्दै मतदाताले आफ्नो असन्तुष्टि मतपत्रका माध्यमले प्रकट गरेका छन् ।

हुन त यसअघि गत मंसिरमा भएको आम निर्वाचनमा पनि मतदाताले यसको स्पष्ट संकेत गरेकै थिए । परम्परागत दलहरुलाई भन्दा नयाँ दल र नेताहरुलाई उनीहरुले बढी ध्यान दिएको पाइएको थियो ।

त्यसयता पनि सरकार बनाउने, मन्त्री बन्ने र अरु पदहरुमा पुग्ने झगडामै रमाइरहेका दलहरुले आफूलाई सच्याउनेतिर सोच्नै भ्याएनन् । जसले गर्दा जनमानसमा उनीहरुप्रतिको वितृष्णा अझ चर्किएर आयो । परिणाम, उपनिर्वाचनले देखाएकै छ ।

उपननिर्वाचनमा राजनीतिक दलहरुले गठबन्धन बनाएर उम्मेदवारी दिएका थिए । यसो भए पनि नेपाली कांग्रेस चितवन २ र तनहुँ १ मा पराजित हुन पुग्यो ।

पराजय पनि लाजैमर्दो देखियो । दुवै स्थानमा गत मंसिरको ल्याएको जनि मत पनि ल्याउन नसक्दा मतदाताको मनस्थिति फेरिएको बुझ्न कठिन छैन ।

राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँलाई कांग्रेसले आफ्नो पकड क्षेत्र मान्थ्यो । उपचुनावमा त्यो गलत साबित भयो । उसले मंसिरको २५ हजार मतमध्ये ६ हजार गुमायो ।

मंसिरमा १९ हजार मत पाएको एमालेले पनि उपचुनावमा ८ हजार पाँच सय कटाउन सकेन ।

चितवन २ मा पनि कांग्रेस र एमालेको अवस्था यस्तै कमजोर देखियो ।

उपनिर्वाचनको नतिजा हेर्दा मतदातामा पुराना दलप्रति विश्वास कम हुँदै गएको प्रष्ट हुन्छ । सत्ता केन्द्रित राजनीतिमै रुमलिएको तर जनताका समस्याप्रति गम्भीर नभएको मतदाताको बुझाइ छ ।

नेपालमा २०१५ सालयताका हरेक निर्वाचनमा नयाँ दल र स्वतन्त्र उम्मेदवारलाई मतदाताले परीक्षण गर्दै आएका छन् ।

तर गत वर्षको स्थानीय तह निर्वाचनदेखि अहिले उपनिर्वाचनसम्मको अवस्था विश्लेषण गर्दा स्थापित भनिएका दलहरु नसुध्रिए अर्को चुनावसम्म राजनीतिको हावा कता बहन्छ, अहिल्यै भन्न सकिँदैन ।

उपनिर्वाचनले दिएको सन्देशलाई मनन गर्दै सच्चिएर अघि बढे भोलिका दिनमा केही सुधार होला नत्र आगामी निर्वाचनमा ‘ठूला’ दलहरुको आकार अहिलेको भन्दा निकै घट्ने कुरामा शंका छैन ।

उल्लेख्य मतान्तरले पछि

उपनिर्वाचनको परिणामपछि संघीय संसदमा नेपाली कांग्रेसको एक सिट घटेको छ । यसअघि कांग्रेस विजयी बनेको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जीत हासिल गरेका छन् ।

उनको जीतसँगै रास्वपाले संघीय संसदमा एक सिट बढाएको छ । रास्वपाको सिट बढेर २१ पुगेको छ भने कांग्रेस ८९ बाट १ घटेर ८८ मा सीमित हुन पुगेको छ ।

यसपटक नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । चितवन–२ मा त पहिलाभन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो ।

तीनवटै निवार्चन क्षेत्रमा एमाले १८ हजारभन्दा बढी मतान्तरले पराजय हुन पुगेको छ ।

चितवन–२ अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले ल्याएको १४ हजार ७ सय ५२ मत जति पनि उपनिर्वाचनका उम्मेदवार रामप्रसाद न्यौपानेले ल्याउन सकेनन् । उनले पोखरेलले भन्दा ३ हजार ७ सय ८६ कम मत ल्याए ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५४ हजार १७६ ल्याएर विजयी भए भने नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा रहे ।

यसैगरी, तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुगे । उनले १० हजार मत पनि कटाउन सकेनन् । उनी ८ हजार ४ सय ८८ मतमा सीमित भए ।

उक्त क्षेत्रमा रास्वपाका स्वर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित विजयी बने । नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतसहित दोस्रो स्थानमा रहे ।

यस्तै, बारा–२ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव २८ हजार ४ सय १५ मत ल्याएर विजयी बने । उनका निकटतम प्रतिस्पर्धीका रुपमा नयाँ दल जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *