उल्लेख्य मत ल्याउँदै विजयी भए स्वर्णिम वाग्ले

काठमाडौं । तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी प्रतिस्पर्धीभन्दा उल्लेख्य बढी मत ल्याएर विजयी बनेका हुन् ।

वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पराजित गरे ।

वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याए भने भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् ।

१ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेको तनहुँ १ मा आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो ।

मंसिर ४ को आमनिर्वाचनमा तनहुँ १ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो।

गोरखामा जन्मेका वाग्लेले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

निर्वाचनको केही दिनअघि मात्र उनी नेपाली कांग्रेस परित्याग गरेको घोषणा गर्दै रास्वपामा प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *