एमाले नेतृत्वको लुम्बिनी सरकारले पाएन विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाको सोमबारको बैठकमा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत प्राप्त गर्न नसक्दा एमाले नेतृत्वको सरकार ढलेको हो।
संविधानको धारा १६८ को उपदफा ४ अनुसार मुख्यमन्त्री गिरीले सोमबार विश्वासको मत मागेका थिए । उनको पक्षमा ३३ मत मात्र परेको थियो । विपक्षमा ५३ मत परेको थियो ।
८७ सदस्यीय लुम्बिनीको प्रदेश सभामा सरकार बनाउनका लागि ४४ मत आवश्यक पर्छ । एमालेका २९ र राप्रपाका ४ गरी मुख्यमन्त्री गिरीले ३३ मत मात्र प्राप्त गरेका हुन् ।
पुस २७ गते ७ दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा ८ दलका ५८ जनाबाट विश्वासको मत पाएका थिए ।
गिरीलाई समर्थन गरेका माओवादीसहितका ५ दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक विश्वासको मत मागेका हुन् ।
मुख्यमन्त्री गिरीको विपक्षमा कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका १–१ प्रदेश सभा सदस्यले मत दिएका छन् ।
एमाले नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा अर्को सरकार गठनको प्रकृया गठबन्धनका दलहरुले सुरु गर्ने भएका छन् ।
यसअघि गण्डकी र सुदूरपश्चिममा पनि विश्वासको मत प्राप्त गर्न नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको थियो । केन्द्रमा नयाँ गठबन्धन बनेपछि प्रदेश सरकारहरुमा पनि फेरबदल भएको हो ।