उपनिर्वाचनः राजनीतिक दलहरुको ‘प्रतिष्ठाको लडाइँ’

काठमाडौं । प्रतिनिधिसभा सदस्यको रिक्त स्थान पूर्तिका लागि आज आइतबार तीन जिल्लामा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ ।

यो उपनिर्वाचनलाई राजनीतिक दलको लोकप्रियता जाँच्ने मौकाका रुपमा हेरिएको छ । यसका साथै नयाँ दलहरुको आधार र प्रभाव कस्तो हुनेछ भन्ने पनि उपनिर्वाचनको परिणामले केही हदसम्म स्पष्ट पार्ने अनुमान गरिएको छ ।

मंसिर ४ मा निर्वाचित तीन सांसदको पद विभिन्न कारणले रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । तनहुँ क्षेत्र नम्बर १, बारा २ र चितवन २ मा हुने उपनिर्वाचनको परिणाम कसले आफ्नो पक्षमा पार्ला भन्ने आम रुपमा चासो बढेको छ ।

तनहुँ १ बाट निर्वाचित कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यो क्षेत्र खाली भएको हो । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्र खाली भएको हो ।

नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले बदर गरिदिएपछि चितवन २ मा उपनिर्वाचन हुने भएको हो ।

मुख्य राजनीतिक दलहरुले यो उपचुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । बारामा यसअघि जितेको जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो बर्चश्व जोगाउने चुनौती छ । जनमत पार्टी उपेन्द्रलाई पराजित गरी आफू स्थापित हुने ध्याउन्नमा देखिन्छ ।

मधेसकेन्द्रीत यी दुई दलको प्रतिस्पर्धाका बीच एमाले र अरु दलहरु मतदाता आफ्ना पक्षमा पार्ने रणनीतिमा लाग्दै आएका छन् ।

चितवनमा हुने चुनाव सबैभन्दा बढी चर्चामा छ । यसअघि जितेका रवि लामिछाने फेरि उम्मेदवार बनेका छन् । उनलाई पराजित गरी परिणाम उल्टाउने कांग्रेस, एमाले लगायत दलको रणनीति देखिन्छ ।

यसैगरी कांग्रेसले जितेको तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीले त्यहाँ आफूलाई स्थापित गराउने रणनीति अख्तियार गरेको छ । उसले हालैमात्र कांग्रेस त्यागेका स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ ।

निर्वाचन आयोगका अनुसार बारा क्षेत्र नम्बर २ मा १ लाख ०५ हजार २४८ मतदाता छन् । त्यहाँ पुरुष ५८ हजार ९३४ र महिला मतदाता ४६ हजार ३१४ छन् ।

बारा २ मा ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये १० जना राजनीतिक दलका हुन् भने २४ जना स्वतन्त्र उम्मेदवार छन् ।

बारामा जसपाका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवालीबीच बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

बागमती प्रदेशमा पर्ने चितवन २ मा १ लाख २४ हजार ६९५ मतदाता छन् । यीमध्ये ६१ हजार ४०३ पुरुष, ६३ हजार २९१ महिला र एक जना ‘अन्य’ छन् ।

चितवनको उपनिर्वाचिनमा प्रतिस्पर्धा गरिरहेका २२ उम्मेदवारमध्ये १२ जना राजनीतिक दलका छन् । १० जना स्वतन्त्र छन् । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

गण्डकी प्रदेशमा पर्ने तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता छन् । यीमध्ये ५९ हजार ५४० पुरुष र ६३ हजार ७६५ महिला मतदाता छन् ।

तनहुँको उपनिर्वाचनमा ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । उनीहरु सबै राजनीतिक दलका उम्मेदवार हुन् । यीमध्ये नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनाल मुख्य प्रतिस्पर्धीका रुपमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *