प्रतिनिधिसभा सदस्य छान्न उपनिर्वाचन आज

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि बारा २, चितवन ३ र तनहुँ १ मा आज आइतबार निर्वाचन हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान हुँदैछ ।
मतदान केन्द्र निर्माण गर्ने काम सकिएको छ । आयोगका अनुसार सुरक्षा व्यवस्थादेखि कर्मचारी खटाउनेसम्मका सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
तनहुँ १ मा १ लाख २३ हजार ४ सय ९०, बारा २ मा १ लाख ५ हजार ११ तथा चितवन २ मा १ लाख २४ हजार २ सय १५ मतदाता मतदानमा सहभागी हुँदै छन् ।
३ वटै निर्वाचन क्षेत्रका १ सय ९४ मतदान स्थलमा ४ सय २७ वटा मतदान केन्द्र तोकिएका छन् भने करिब ४ हजार कर्मचारी खटाइएका छन् ।
निर्वाचनका लागि चाहिने मतपत्रसहितका करिब ६० प्रकारका सामग्री मतदान केन्द्रमा पुर्याइसकिएको छ ।
यसैबीच आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको छ ।
आयोगले मतदाता मतदान केन्द्रमा जाँदा मोबाइल क्यामेरासहितका कुनै पनि सामान लैजान निषेध गरेको छ ।
त्यसैगरी शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक, सुत्केरीजस्ता मतदातालाई मतदानका लागि प्राथमिकता दिन, कुनै मतदाताले मतपत्रको दुरुपयोग गरे या मतदानमा बाधा पार्ने कुनै गतिविधि गरे तत्काल कारबाही गर्न लगायतका १० बुँदे निर्देशन आयोगले सम्बद्ध सबैलाई दिएको छ ।