कोरोना सङ्क्रमण भए आइसोलेनमा बसिहाल्न स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौं । कोरोना भाइरसबाट हुने संक्रमण दर दिनहुँ बढ्न थालेको छ । केही साता अघिसम्म शून्यमा झरेको संक्रमण अचेल दिनमै सयभन्दा बढीमा पुष्टि भइरहेको छ ।

संक्रमण लगातार बढिरहेका बेला सरकारले यसको रोकथाम तथा संक्रमण न्यूनीकरणका लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमण भएमा तत्काल आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

सङ्क्रमणपछि आइसोलेसनमा ५ दिनभन्दा बढी बस्दा कुनै पनि लक्षण नदेखिए, विगत २४ घण्टाभित्र ज्वरोको औषधि नखाइ ज्वरो कम भएमा त्यस्तो व्यक्ति सामान्य दैनिकीमा फर्कन मिल्ने मन्त्रालयको भनाइ छ ।

ज्वरो आउन कम नभए साथै सास फेर्न कठिनाई भएमा ७ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने मन्त्रालयको भनाइ छ ।

७ दिनसम्म आइसोलेसनमा बसेका बिरामीलाई बाहिर आउनु अघि चिकित्सकसँग परामर्श गर्न सुझाइएको छ ।

मन्त्रालयले आइसोलेसनमा बसेपछि के गर्ने र के नगर्ने भन्नेबारे पनि सुझाव दिएको छ ।

मन्त्रालयका अनुसार संक्रमित व्यक्तिले आठ दिनसम्म अन्य मानिसहरूको सम्पर्कमा नजानु हुँदैन ।

यस्तै, नाक, मुख, र चिउँडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्नुपर्छ ।

बेलाबेला साबुनपानीले हात धुने वा स्यानिटाइजरले हात सफा गर्नुपर्ने जनाइएको छ । यसैगरी संक्रमितले मिलेसम्म छुट्टै शौचालय र प्रशस्त हावा आउने छुट्टै कोठामा बस्नुपर्छ ।

कोभिड–१९ को लक्षण देखिएका वा लक्षण नभई कोभिड पोजेटिभ भएमा रिपोर्ट आएको दिनलाई पहिलो दिन मान्ने, भोलिपल्ट देखि २, ३ गर्दै क्रमशः दिन गन्नुपर्छ ।

संक्रमित व्यक्तिले तत्कालै आइसोलेसनमा बस्ने, अन्यले सार्वजनिक स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पालना गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *