एसीसी प्रिमियर कपः नेपालले मलेसियालाई ६ विकेटले हरायो

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले सुखद सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो ।
मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो ।
नेपालका लागि भीम सार्कीले ७१, कुशल मल्लले नटआउट ७०, कप्तान रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए ।
बलिङतर्फ मुहम्मद वकिफ, रिजवान हैदर, विजय उनी र विरनदीप सिंहले १–१ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो ।
मलेसियाका कप्तान अहमद फैजले ७६ र विरनदीप सिंहले ४६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले ३र३ विकेट लिए । त्यस्तै ललित राजवंशीले २ र गुलसन झाले १ विकेट लिए ।
नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ । नेपालले साउदी अरबसँग वैशाख ११ गते मूलपानीमा खेल्नेछ ।
वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते हुनेछ ।
एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।
शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।