तिम्रो ठाउँ सधैं कहाँ तिम्रो हुन्छ ?

तिम्रो ठाउँ,
सधैं कहाँ तिम्रो हुन्छ ?
तिमी हिँडेपछि बिस्तारै
त्यो अर्कैको हन्छ,
त्यहाँ नयाँ अनुहार देखिँदै जान्छ
त्यहाँका बोटविरुवा हुर्कंदै जान्छन्
न वारी तिम्रो रहन्छ, न डोरी
सबै उजाड हुन्छन् कि मििक्कन्छन् !
तिमी फर्केर आयौ कुनै दिन भने
चिन्दैनन् नयाँले तिमीलाई
न हिंड्दै गरेका चेलीको हुलमा
कोही चिनिन्छ
न हुर्कंदै गरेका ठिटाहरुले
हिजोको रैथाने तिमीलाई चिन्छन् !
सबथोक फेरिएको हुन्छ
चापाकलको ठाउँमा धारा
घुम्तीको ठाउँमा मिनी स्टोर
न पसलेले सोध्छ, न साहुनीले चिन्छन्
नयाँ बसाइँ सरेकाले भरिएको हुन्छ
तिम्रो पुरानो वस्ती
देख्छौ जब नयाँ अनुहारको मस्ती,
फर्कुँ फर्कुँ हुन्छ उतै, तिमीलाई
जता गएका थियौ सब छोडेर !
जीवनको मीठो सत्य हो
छोडेपछि टाढिँदै जान्छन्
चाहे ती ठाउँ हुन्
वा मनमा बसेका प्रिय मानिस !
एकदिन त झन् तारा हुन्छन्
कि माथिबाट हामी तल देख्छम
कि उनीहरुले हेर्दा हामी माथि हुन्छम !
तिम्रो ठाउँ,
सधैं कहाँ तिम्रो हुन्छ ?
तिमी हिँडेपछि बिस्तारै
त्यो अर्कैको हुन्छ !