जिम्मेवारीबोध गरी काम गर्न बालेनलाई सरकारको आग्रह

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई ‘जिम्मेवारीबोध गरी काम गर्न’ सचेत गराएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर शहलाई सचेत गराउने निर्णय गरेको हो ।
बैठकमा शीतलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर शाहको अभिव्यक्ति अव्यावहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरिएको बैठकपछि सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखले घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको उनले जनाइन् ।
बैठकमा नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको मन्त्री शर्माले जानकारी दिइन् ।