कोरोना संक्रमण बढ्दोः चौबीस घण्टामा एकजनाको मृत्यु, १०६ संक्रमित थपिए

काठमाडौं । केही सातायता कोरोना संक्रमणका बिरामी बढिरहेको अवस्थामा नेपालमा संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।
काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सरकारले जनाएको छ । ती महिलामा मधुमेह र फोक्सोसम्बन्धी समस्या पनि रहेको अस्पतालले जनाएको छ ।
यसअघि पछिल्लो पटक गत पुस २३ मा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको थियो ।
नेपालमा कोभिड संक्रमण बढेसँगै अस्पतालका आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । सरकारी तथ्यांकअनुसार देशभर १३ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
दैनिक संक्रमितको संख्या बढेसँगै अस्पतालमा भर्ना भएर उपचार गराउनुपर्नेहरुको संख्या पनि बढ्न थालेको छ ।
भारतमा कोभिड संक्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेकाले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न सरकारले आग्रह गरेको छ ।
पछिल्लो तथ्यांकअनुसार देशभर कोभिडका सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ ।