विदेशमा मृत्यु भएका नेपालीको बिमा रकम हिनामिना गर्ने ६ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका तथा बिदामा आउँदा मृत्यु भएका नेपालीले पाउने बिमा रकममा ठगी गर्ने ६ जनालाई पक्राउ गरिएको छ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी ६ जनालाई सार्वजनिक गरेको हो।

वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दा गर्दै विविध कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीले बिमाबापत पाउने रकम आफन्तलाई केही मात्रै दिई अन्य आफूले नै ठग्ने गिरोहका ६ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो।

प्रहरीले चैत २३ गते दिउँसो गोंगबुबाट रामबहादुर तामाङसमेत ६ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए।

उनले पक्राउ परेका तामाङको साथबाट मृतक व्यक्तिहरुको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बिमा कम्पनीको लेटरप्याडलगायत महत्त्वपूर्ण अन्य कागजातसहित फेला पारेको जनाए।

उनका अनुसार पक्राउ परेकाहरुलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

पक्राउ पर्ने अन्यमा सर्लाही लालबन्दी नगरपालिका ८ का ३४ वर्षीय विनोदकुमार लामा, ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मोक्तान र ३५ वर्षीय प्रकाशबहादुर गोले छन्।

यस्तै काभ्रेको रोशी गाउँपालिका १२ का ४१ वर्षीय रामबहादुर तामाङ र सर्लाहीको हरिवन नगरपालिका २ का ३९ वर्षीय रुद्रमान गोले रहेको केसीले जानकारी दिए।

प्रहरी वरिष्ठ उपरीक्षक केसीले विदेशबाट पठाइएका शवहरुको बिमामा ठगी गर्न यस्तो गिरोह नै रहेको र उनीहरुले मृतकका परिवारलाई बासस्थानमै गएर भेट्ने र बिमामा आधाभन्दा बढी रकम ठगी गर्ने गरेको पाइएको जनाए।

उनका अनुसार मृतकको शव आइसकेपछि उनीहरुका परिवारलाई काठमाडौं बिमाको रकम लिन बोलाउने र कोठामा थुनेर आधाभन्दा बढी रकम ठगी गर्ने गर्थे।

गिरोहका सदस्यहरू विदेशमा मृत्यु भएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्ने गरेको र बिमाको रकम उपलब्ध गराइदिने आश्वासन दिने गरेको पाइएको पनि केसीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *