अफगानी महिलालाई राष्ट्रसंघका लागि काम गर्न प्रतिबन्ध

काठमाडौं । तालिबान सरकारले अफगानी महिलालाई संयुक्त राष्ट्रसंघका लागि काम गर्न प्रतिबन्ध लगाएको छ ।

तालिबानले यस सम्बन्धमा मौखिक जानकारी गराएको राष्ट्रसंघले जनाएको छ । लिखित पत्राचार भने नगरेको राष्ट्रसंघको भनाइ उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

तालिबान सरकारको यस्तो आदेशप्रति असन्तुष्टि जनाउँदै राष्ट्रसंघले अफगानिस्तानमा कार्यरत आफ्ना महिला र पुरुष सबै कर्मचारीलाई ४८ घण्टा अर्थात् दुई दिनसम्म काममा नआउन भनेको छ ।

तालिबानसँगको बैठकबाट यस विषयमा कुरा स्पष्ट नहुँदासम्मका लागि कार्यालय नआउन भनिएको समाचारमा जनाइएको छ ।

राष्ट्रसंघका प्रवक्ताले अति आवश्यकतामा रहेका मानिससम्म सहायता निकायहरुको पहुँच क्षमतामा अवरोध सिर्जना गर्ने पीडादायी प्रवृत्तिमा यो ताजा कदम भएको टिप्पणी गरेका छन् ।

महिला कर्मचारीको अभावमा जीवन रक्षक सहायता पुर्याउन र काम गर्न नसकिने उनको भनाइ छ । तालिबानको प्रतिबन्ध अस्वीकार्य रहेको राष्ट्रसंघको धारणा छ । विदेशी महिला कर्मचारीको हकमा भने यो प्रतिबन्ध लागू नहुने जनाइएको छ ।

अफगानिस्तानको कुल जनसंख्याको आधाभन्दा बढी अर्थात् दुई करोड तीस लाख मानिस चरम आर्थिक तथा मानवीय संकटबाट गुज्रिरहेको र राष्ट्रसंघ उनीहरुसम्म मानवीय सहायता पुर्याउने कार्यमा लागिरहेको उक्त संस्थाले जनाएको छ ।

तालिबानले गत डिसेम्बरमा नै राष्ट्रसंघ तथा स्वास्थ्य सेवा बाहेकका गैर सरकारी संस्थामा कार्यरत महिला कर्मचारीलाई काम गर्न प्रतिबन्ध लगाएको थियो ।

२०२१ मा सत्ता कब्जा गरेयता तालिबानले किशोरी तथा महिलालाई विद्यालय, कलेज र विश्वविद्यालय जानमा रोक लगाउनुका साथै सार्वजनिक पार्क, जिम र स्वीमिङ पुलमा जानसमेत प्रतिबन्ध लगाइसकेको छ ।

यसैगरी आँखा मात्र देखिने गरी शरीर पुरै छोप्ने वस्त्र लगाउनु पर्ने, ७२ किलोमिटरभन्दा बढी दूरीको यात्रा गर्दा पुरुष नातेदारसँगै यात्रा गर्नु पर्ने जस्ता चरम प्रतिबन्ध पनि तालिबानले लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *