महाभीम स्मृति कोषद्वारा बालसन्त पुरस्कृत

विराटनगर । समाजसेवीद्वय प्रभुप्रसाद पराजुली र हीमादेवी पराजुलीले आफ्ना माता महादेवी पराजुली र पिता भीमप्रसाद पराजुलीको स्मृतिमा ‘महाभीम स्मृति कोष’ स्थापना गरेका छन् ।
संस्थाले वार्षिक रूपमा एक लाख रुपैयाँसहित ‘महाभीम धर्म संस्कृति समाजसेवा पुरस्कार’ वितरण गर्ने उद्देश्य राखेको संस्थापक प्रभुप्रसाद पराजुलीले जनाएका छन् ।
संस्थाबारे जानकारी दिन आयोजित कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङले उद्घाटन गरेको कार्यक्रममा महाकाव्यकार गोबिन्दप्रसाद घिमिरेद्वारा लिखित ‘महाभीम’ महाकाव्यको अनन्तश्रीविभूषित नेपालका प्रथम जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यका साथ संयुक्त विमोचन गरेका थिए ।
संस्थाले स्थापना गरेको २०७९ सालको पुरस्कार बालसन्त मोहन शरण देवाचार्यलाई प्रदान गरिएको थियो ।
पुरस्कार संस्थापक पराजुली र प्रमुख अतिथि खापुङले हस्तान्तरण गरेका थिए ।
अध्यक्ष प्रभुप्रसाद पराजुलीले आफ्ना मातापिताको स्मृतिमा सामाजिक कार्य गर्न चाहेको बताएका थिए ।
पुरस्कृत बालसन्तले समाजमा यस्ता गुणी व्यक्तिहरुको आवश्यकता रहेको भन्दै धन्यवाद प्रदान गरेका थिए। विमोचित महाकाव्यबारे चर्चा गर्दै साहित्यकार दधिराज सुवेदीले महाकाव्यकार र पुरस्कार संस्थापकलाई बधाई दिएका थिए ।
प्रमुख अतिथि खापुङले आफ्ना पूर्वजहरुले गरेका कामको स्मरण गर्न उनीहरुलाई यथोचित सम्मान प्रदान गर्न यस्तो पुण्यकार्यले सहयोग गर्ने विचार व्यक्त गरेका थिए ।
नवगठित संस्थाको अध्यक्षता सामाजिक व्यक्तित्व इन्दिरा रिजाललाई हस्तान्तरण गरिएको जानकारी संस्थापक पराजुलीले बताए ।
संस्थाको स्थापना र उद्देश्यबारे साहित्यकार दिङ्लाली कान्छोले जानकारी दिएका थिए ।