यस्तो छ १७ सदस्यीय मन्त्रिमण्डल

काठमाडौं । पटक पटकको छलफलपछि दलहरुबीच मन्त्रालय बाँडफाँटको सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

तीन महिनाको अवधिमा यो सातौंपटक मन्त्रिपरिषद् विस्तार भएको हो । नवनियुक्त मन्त्रीहरुले राष्टपति निवास शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।

कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानमन्त्री तथा रक्षामन्त्री भएका छन् । कांग्रेसकै प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी रमेश रिजालले पाएका छन् भने सहरी विकास मन्त्रालयको जिम्मा सीता गुरुङलाई दिइएको छ ।

भागबन्डाका क्रममा आठवटा मन्त्रालय पाएको कांग्रेसले तत्कालालई चारजना मन्त्रीको नाम पठाएको थियो । विवादका कारण अरु चारजनाको नाम कांग्रेसले पठाउन नसकेपछि प्रारम्भिक चरणमा चारजनालाई प्रधानमन्त्री दाहालले समेटेका हुन् ।

माओवादी केन्द्रका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा शक्ति बस्नेत, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा महिन्द्रप्रसाद राय यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराती र सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदी सरकारमा सामेल भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छन् । लोसपाका शरत्‌सिंह भण्डारी श्रम तथा रोजगारमन्त्री बनेका छन् ।

एकीकृत समाजवादीतर्फबाट वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् ।

जसपाका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई बनेका छन् ।

अब परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न बाँकी छ ।

कसले के जिम्मेवारी पाए ?

पुष्पकमल दाहालः प्रधानमन्त्री

नेपाली कांग्रेसका मन्त्रीहरुः पूर्णबहादुर खड्का–उपप्रधान तथा रक्षा, प्रकाशशरण महत–अर्थ, रमेश रिजाल–उद्योग, वाणिज्य तथा आपूर्ति र सीता गुरुङ– सहरी विकास मन्त्रालय ।

माओवादी केन्द्रका मन्त्रीहरुः नारायणकाजी श्रेष्ठ–उपप्रधानमन्त्री तथा गृह, रेखा शर्माः सञ्चार तथा सूचना प्रविधि, शक्ति बस्नेत–ऊर्जा, जलस्रोत तथा सिंचाइ, सुदन किराती– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदी– सामान्य प्रशासन मन्त्रालय, सुशीला श्रीपाइली– संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री ।

नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुः वेदुराम भुसाल–कृषि तथा पशुपक्षी विकास, प्रकाश ज्वाला–भौतिक पूर्वाधार तथा यातायात

जनता समाजवादी पार्टीकाः अशोक राई–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

लोकतान्त्रिक समाजवादी पार्टीका मन्त्रीः शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा

नेपाल समाजवादी पार्टीका मन्त्रीः महिन्द्र राय यादव–महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

नागरिक उन्मुक्ति पार्टीका मन्त्रीः रञ्जिता श्रेष्ठ–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *