विराट गोल्डकपः भारतको टोलीलाई हराउँदै विराटनगर सिटी बन्यो च्याम्पियन

विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । विराटनगस्थित सहिद रंगशालामा बिहीबार राति भएको गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४–० गोलले हराउँदै विराटनगरले उपाधि उचालेको हो ।

२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो ।

विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझायो ।

जितका लागि विराटनगर सिटीका अफिज ओरवा, बिमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए ।

खेलको सातौं मिनेटमा विराटनगर सिटीका अफिज ओरवाले गोल गरी सुरुवाती अग्रता दिलाए । बिमल घर्तीमगरले निकालेको लामो पासलाई अफिज ओलवाले गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए ।

७८ औं मिनेटमा बिमल घर्तीमगरले पेनाल्टी एरियाबाट गोल गरी दोब्बर बनाए । सुजिकीले निकालेको क्रस पासलाई बिमलले गोलमा परिणत गरेका थिए । खेलको ८९ औं मिनेटमा मेसुकेले गोल गरी तेब्बरको अग्रता बनाए । बिमलले निकालेको पासलाई मेसुकेले गोल गरे । इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए ।

फाइनलको म्यान अफ द म्याच विराटनगर सिटीका सुरज बिके घोषित भए । उनले नगद ११ हजार पाए । फाइनलमा विधागत रुपको पुरस्कार पनि विराटनगर सिटीको बर्चस्व कायम रह्यो ।

बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए । यस्तै फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भएको छ । हाइस्कोर विराटनगर सिटीका अभिषेक गुरूङ भए । उनले खेल अवधिभर भर दुई गोल गरेका थिए ।

बेस्ट फरवर्ड भारतको चालीज क्युराको, बेस्ट मिल्ड फिल्डर विराटनगर सिटीका युका सुजुकी, बेस्ट गोल किपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए । बेस्ट डिफेन्टर विराटनगरका देवेन्द्र तामाङ्ग घोषित भए । बेस्ट कोचमा विराटनगर सिटीका सन्तोष न्यौपाने भए । विधागत रुपमा एवार्ड पाउनेहरूले जनही २५–२५ हजार रुपैयाँ पाए ।

प्रतियोगितामा बिजेता हुने टिमलाई पुरस्कार कार्यक्रमका प्रमुख अतिथि एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग, विराट गोल्डकपको आयोजक समितिका संयोजक तथा विराटनगर महागनरपालिका प्रमुख नागेश कोइरला, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाल लगायतले पुरस्कार बितरण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *