मेची पुलबाट सुरू भएको युवा अभियानः ‘हरेक शनिबार, श्रम बार’

भद्रपुर । हरेक शनिबार बिहान युवाहरु कूचो, खरेटो जस्ता सामग्री लिएर घरबाट निस्कन्छन् । अनेक खालका फोहर अव्यवस्थित रुपमा फालिएका सार्वजनिक स्थान जान्छन् । अनि धमाधम फोहर संकलन गर्न थाल्छन् ।
झापाको भद्रपुरका युवाको यो अभियानमा साथ दिने उल्लेख्य हुन्छन् । जनप्रतिनिधि, नागरिक समाज, विद्यार्थी, सुरक्षाकर्मीलगायत सबैको सामूहिक श्रमबाट सफाइ अभियान अघि बढ्छ ।
अभियानमा नगर प्रहरी, ‘नागरिक आवाज’ मा आबद्ध सञ्चारकर्मीको पनि सहभागिता थियो । धेरै भएको छैन युवाहरुको समूहले यो अभियान थालेको तर सुरुआती चरणमै उत्साहजनक सहभागिता भएपछि उनीहरु उत्साहित भएका छन् ।
‘युवा नागरिक समाज, भद्रपुर नगर कमिटी’ मा आबद्ध युवाहरुको अगुवाईमा हरेक शनिबार यसरी सफाइका लागि श्रम गर्ने अनुकरणीय चलन सुरु भएको छ ।
यो अभियानलाई हरेक ‘शनिबार, श्रम बार’ नाम दिइएको छ। अनौपचारिक रुपमा यसअघि थुप्रै यस्ता सामाजिक काम गर्दै आएका युवाहरुले घोषित रुपमा चैत ११ गतेदेखि सफाइ अभियान थालेका हुन् ।
सुरुमा उनीहरुले भद्रपुर नगरपालिका वडा ५ मा पर्ने मेची पुलबाट सफाइ अभियान सुरु गरेका थिए ।
सबैजना भेला भएर पुल र आसपास क्षेत्रमा जथाभावी फ्याँकिएका फोहरहरु संकलन गरेका थिए । संकलित फोहरलाई ट्याक्टरमा हालेर फोहर बिसर्जन स्थल पुर्याउन नगरका कर्मचारीहरुले पनि सघाउने गरेका छन् ।
युवा नागरिक समाज, भद्रपुर नगर कमिटी अध्यक्ष प्रेम खनाल सधैँ सरकार, प्रशासनमात्रै भनेर बस्दा सबै काम हुन नसक्ने महसुस गर्दै नागरिक स्तरबाट अगुवाइ भए मात्र सुधारका काम हुन सक्ने बताउँछन् ।
त्यही भएर आफूहरुले ‘श्रम बार’ को अवधारणाअनुसार सफाइ अभियान चलाएको उनको भनाइ छ ।
‘नागरिक नजागेसम्म कुनै सुधार हुँदैन’ खनालले भने, ‘सबैतिर यसरी नै युवाहरु सक्रिय भएर लाग्ने हो भने विकृति अन्त्य गर्न, अव्यवस्था हटाउन सहज हुन्छ भन्ने हामीलाई लाग्छ ।’
शनिबार बिहान ७ बजेदेखि सुरु हुने सफाइ अभियानमा दुईदेखि चार घण्टासम्म श्रम गर्ने गरिएको छ ।
आउँदो चैत १८ गते शनिबार भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल परिसरमा सफाइ गर्ने तय भइसकेको छ । यसमा सहभागी हुन संस्थाले सार्वजनिक आह्वान गरेको छ ।
त्यसैगरी नियमित रुपमा लेखनाथ चोकलगायत अन्य सार्वजनिक स्थानहरुमा सफाइ गर्ने रुटिन नै संस्थाले बनाएको छ ।
‘एउटा सार्वजनिक महत्वको अभियान थालिएको छ, यसमा धेरैको साथ र सहयोग पाइरहेका छौं’ खनालले भने, ‘यो अभियान अनन्तसम्म सञ्चालन गर्ने अठोट गरेका छौं ।’
नगरलाई सफा र हराभरा बनाउने अरु गतिविधिमा पनि युवाहरुको ध्यान छ ।
अभियानमा साथ दिने मध्येका युवा सुलभ खतिवडा सबै ठाउँमा आफैँ स्वःस्फूर्त सक्रिय भएर यस्ता काम गर्ने हो भने सुधारका धेरै काम गर्न सकिने बताउँछन् ।
खनालका अनुसार स्वतन्त्रबाट निर्वाचित धरान उपमहानगरका मेयर हर्क साम्पाङबाट प्रेरित भएर श्रम गर्ने कुरालाई स्वीकार्दै ‘हरेक शनिबार श्रम बार’ का रूपमा अभियान चलाइएको हो ।
संस्थाले यसअघि विभिन्न विषयमा खबरदारी गर्दै आएको छ । उपभोक्ता ठगिएकोदेखि सामाजिक विकृतिका विरुद्ध पनि उनीहरुले ध्यानाकर्षण गराउँदै आएका छन् ।
खनालको नेतृत्वमा रहेको समाजमा सक्रिय युवाहरुको आबद्धता छ ।
वरिष्ट उपाध्यक्षमा टेकमान लामिछाने गुरुङ, उपाध्यक्षमा आकाश शिवाकोटी, सचिवमा हेमलाल भट्टराई, सहसचिवमा कृति राई, कोषाध्यक्षमा दिनेश शर्मा र सहकोषाध्यक्षमा संगीता थापा मगर छन् ।
सदस्यमा युवराज घिमिरे, अम्बर बिष्ट, सनिजा निरौला, सम्झना सत्याल, योजन पाण्डे, रशना गुरुङ छन् ।
यसैगरी अन्य सदस्यमा रोशन खनाल, शंकर ठाकुर, प्रकाश कार्की, रामबहादुर कटुवाल, दिनलाल माझी, तीर्थ खेवा, सुकबहादुर लिम्बु, रोहित यादव, महेश साह, विष्णु राजवंशी, दिलिप राई, सन्तोष रसाइली र भावना क्षेत्री छन् ।
कार्यसमितिमा रहेको यी पदाधिकारी र सदस्यहरुबाहेक अभियानमा सघाउने सदस्यहरुको संख्या उल्लेख्य छ ।
समितिका वरिष्ठ सल्लाहकार सदस्यमा राजेन्द्रप्रसाद घिमिरे छन् भने सल्लाहकारहरुमा सामाजिक अभियन्ता सञ्जय भुइँमाली, सन्तोष धमला र विकास ठाकुर छन् ।
संस्थामा सदस्य रहेकाहरु कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएका हुनुपर्ने नियम छ ।
कोही सदस्य कुनै राजनीतिक दलमा आबद्ध भएको अवस्थामा सदस्यता नरहने नियम बनाइएको खनालले बताए ।
आगामी दिनमा सफाइ अभियानलाई अझ विस्तार गर्दै व्यापक बनाउन वडा समितिहरु पनि गठन गर्ने तयारी गरिएको संस्थाले जनाएको छ ।
-तस्बिरहरू सौजन्यः नागरिक आवाज