अमेरिकाको नासभिलमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको टेनेसी प्रान्तको नासभिलस्थित एक प्राथिमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान भएको उक्त घटनामा मारिने बालबालिका ९ वर्षका छन् । वयस्कहरु ६० वर्षभन्दा बढी उमेरकाहरु छन् ।

कक्षा ६ सम्म पढाइ हुने उक्त विद्यालयमा २ सय विद्यार्थी अध्ययनरत थिए । उक्त विद्यालयमा ११ वर्ष उमेरसम्मका बालबालिका अध्ययन गर्छन् ।

आक्रमणकारी नासभिल निवासी २८ वर्षीया महिला रहेको र उनी सुरक्षाकर्मीको कारबाहीमा मारिएको प्रहरीको भनाइ उल्लेख गर्दे अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

राइफल, हाते बन्दुक र पेस्तोलसहित एउटा भवनमा प्रवेश गरेकी ती महिलाले ढोकाबाट अन्धाधुन्ध गोली चलाएको बताइएको छ।

औड्री हल नामकी बन्दुकधारी ती महिलासँग उक्त विद्यालयको नक्सांकनका साथै एउटा घोषणापत्रसमेत भेटिएको प्रहरीले जनाएको छ ।

उनी उक्त विद्यालयको पूर्व विद्यार्थी भएको बताइएको छ । ती महिला ट्रान्सजेन्डर भएको पनि खुलेको छ ।

यो घटनापछि अमेरिकामा बन्दुक राख्न पाउने कानुनको संशोधनका लागि चल्दै आएको पुरानो बहसलाई फेरि चर्चामा ल्याएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाप्रति दुःख व्यक्त गर्दै आगामी शुक्रबार साँझसम्म राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *