स्रष्टाद्वय श्रेष्ठ र राईलाई बबरसिंह-देवकुमारी गुठीको पुरस्कार

विराटनगर । बबरसिंह, देवकुमारी थापा सेवा गुठी विराटनगरले दुईवटा पुरस्कार तथा सम्मानको घोषणा गरेको छ ।

प्रत्येक वर्ष प्रदान गरिने देवकुमारी थापा स्मृति सम्मान तथा पुरस्कार २०७९, समालोचक डा. दयाराम श्रेष्ठ ‘सम्भव’ लाई प्रदान गरिने भएको हो ।

छ दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको समालोचना विधामा दिएको योगदानका लागि साहित्यकार श्रेष्ठलाई उक्त पुरस्कार सम्मान प्रदान गरिने भएको जनाइएको छ ।

तीन दशकभन्दा बढी समयदेखि गीत र सङ्गीतको क्षेत्रमा दिएको योगदानका लागि सङ्गीतकार कुशेश्वर राईलाई २०७९ सालको बबरसिंह थापा स्मृति सम्मान तथा पुरस्कार प्रदान गरिने भएको हो ।

यी दुई पुरस्कारको राशि ५१ हजार र २५ हजार छ । साहित्यकार विवश पोखरेलको संयोजकत्वमा, प्रमोद प्रधान, दिनेशराज सुवेदी ‘दिङ्लाली कान्छो’, शोभन नेपाल, रहेको चार सदस्यीय सिफारिस समितिले पुरस्कार प्रदान गर्न सर्जकहरुको नाम सिफारिस गरेको थियो ।

संस्थाका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको गुठीको कार्य समितिको बैठकले श्रेष्ठ र राईलाई ती पुरस्कार सम्मान दिने निर्णय गरेको हो ।

यसअघि उक्त पुरस्कारबाट साहित्यकारहरू इन्द्रबहादुर राई, मदनमणि दीक्षित, सत्यमोहन जोशी, बालकृष्ण पोखरेल, दुर्गालाल श्रेष्ठ, बैरागी काँइला, चुडामणि बन्धु, तुलसी दिवस, मन्जुल, विन्ध्या सुब्बा पुरस्कृत भइसकेका छन् ।

यस्तै, बबरसिंह थापा स्मृति पुरस्कारबाट प्रा. डा. रामबहादुर थापा, जनकमोहन अधिकारी, दीपक आलोक, कुन्ता शर्मा, गायत्री श्रेष्ठ, नवराज सुब्बा, धीरेन्द्र प्रेमर्षी, जयप्रसाद पाण्डे, प्रमोद प्रधान, मोमिला, लक्ष्मी उप्रेती, विमल वैद्य, बुलु मुकारुङ, विक्रमश्री, सुमन पोखरेल लगायत स्रष्टा पुरस्कृत भइसकेका छन् ।

गुठीका सदस्य दिङ्लाली कान्छोका अनुसार घोषित पुरस्कार २०८० बैशाख ९ गते विराटनगरमा आयोजना हुने कार्यक्रममा हस्तान्तरण गरिने छ ।

त्यसै सन्दर्भमा देवकुमारी थापाका प्रतिनिधि कथासङ्ग्रहको विमोचन गरिने भएको गुठीका सचिव दिनेश श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *