विराट गोल्डकप: विराटनगर सिटी फाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौँ संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ ।

विराटनगरस्थित सहिद मैदानमा सोमबार राति भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधिनजिक पुगेको हो ।

विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरूङले गोल गरी टिमको जित सुनिश्चत गरे । जावलाखेलका तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए ।

घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए । दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दवाव परेको थियो ।

५९ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन ब्याङगनलले गोल गरी टिमलाई अग्रता दिए । बिमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले मैदानतिर बल फर्काइदिएपछि स्टेफनले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

८७ औं मिनेटमा विराटनगर सिटीका विमल घर्तीमगरले निकालेको क्रस पासलाई बैकल्पिक खेलाडी अभिषेक गुरूङले गोल गरी टिमको लागि विजय गोल गरे ।

दोस्रो हाफको इन्जुरी समयमा जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए ।

म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

मंगलबार हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफबीच हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *