जिन्दगीका रहरहरू

रहरहरू.
कहिलेकाहीँ लाग्छ मेरा रहरहरू
चाँदनी रातको धिपधिपे उज्यालोमा
मलाई चियाएर जिस्क्याइरहेछन्
मानौं,
मेरा लाजहरूसँग उसलाई प्रेम भएको छ
सुहागरातमा घुम्टोभित्र लजाएकी दुलहीझैं
आँखाभरिको रहर थाहै नपाई
तप्लक्क खस्दो हो प्रेमलापमा।
अझै,
रहरहरू टारी खेतको लहलह झुलेका
धानका बालाहरू जस्तै झुल्दा
ती पाखामा फुल्ने लालीगुराँस जस्तै
ढकमक्क भएर मनै लोभ्याउने अप्सराझैं
बन्ने रहरमा कति हतारिँदा हुन्।
उसो त,
क्षितिजमा देखिने आकाश धर्तीको पीडा
कहाँ पत्ता नभएको हो र?
यी रहरहरूलाई
युगौदेखि सँगै देखिएर पनि
बिना स्पर्श बाँचिरहेछन्
यो बाध्यता र विवशताको
कहाँ लेखाजोखा गरिसाध्य होला ।
यो मन,
खडेरीले खाएको पाखो बारीमै
मरिरहेछ
मुस्कानी फूलजस्ता
तिम्रा मेरा रहरहरू
बुँद बुँद मायाका थोपाहरूले कहिले
भिजाउँदो हो?
र हरिया
आशाका मुनाहरू पलाउँदा हुन्
बाँच्ने रहरमा कयौँ पटक
मरे जिन्दगीका रहरहरू।
-उर्लाबारी, मोरङ